अन्तर्वार्ता
‘नेपालमा १०० वटा चेन होटलको लक्षित योजनाअन्तर्गत हामीले काम गरिरहेका छौं’
पौवा हस्पिटालिटीका परिकल्पनाकार एवं उपाध्यक्ष हुन्—ध्रुब न्यौपाने । अहिले तीब्रतर रुपमा चेन होटलहरु विस्तार गरिरहेको पौवा १०० को लक्ष्यमा काम गरिरहेको छ । अहिले पौवा हस्पिटालिटीमा ६०० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने आगामी वर्ष पौवाअन्तर्गत थप ६०० सय नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । उपाध्यक्ष न्यौपानेसँग पौवाको आगामी योजनालगायतका यावत विषयमा केन्द्रीत रहेर अर्थलाइभले गरेको कुराकानीः
पौवाको आगामी वर्षको योजना के छ ?
नेपालमा १०० वटा हस्पिटालिटी चेनको लक्षित योजनाअन्तर्गत नै हामीले काम गरिरहेका छौं । त्यहीअन्तर्गत हामी वर्षमा ५—६ वटा होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस खोल्ने योजनामा काम गरिरहेका हुन्छौ । यो वर्षमा पनि त्यही ५—६ वटा खुल्छन् । फागुन महिनाको अन्तिमसम्म दुई वटा ओपनिङ गर्ने योजना छ । 
त्यसकारण पहिलो कुरा त शाखा विस्तार नै भयो । दोस्रो, हामीले नेपाली कला, संस्कृतिलाई होटलमा भित्र्याएर कर्पोरेट बनाउने योजनामा काम गरिरहेका छौं । यसपटक हामीले शिवरात्री कार्यक्रम पौवाका सबै आउटलेटहरुमा सम्पन्न भयो । आजभन्दा चार वर्ष अगाडि नेपाली हस्पिटालिटीले हामीले शिवरात्री किन नमनाउने, अमेरिकन, युरोपियनहरुले क्रिसमस मनाउँछन् भने हामीले शिवरात्री पनि मनाऔं न भनेर मन्दिरमा हुने भजन, कीर्तनलाई अहिले होटलमा सारेका छौं । यो शिवरात्रीमा बुटवलको होटलमा नयाँ वर्षको भन्दा बढी झण्डै तीन हजार मानिसहरु थिए । भैरहवा र नेपालगन्जमा पनि त्यतिकै उपस्थिती थियो ।
भनेपछि शिवरात्री पनि पौवाका होटल, रेष्टुरेन्टलगायतका आउटलेटमा भित्रियो ?
पूर्णतयाः इभको रुपमा भन्दा पनि हामीले शिवरात्रीलाई हामीले उत्सवका रुपमा मनाउन थालेका छौं । भजन, कीर्तनको उल्लास हुने गरेको छ । घरघरमा नाचिने देउसी भैलोलाई दुई वर्षदेखि हामीले होटलमा ल्याएका छौं, आगामी वर्ष झनै व्यवस्थित गर्ने योजनामा लागेका छौं । त्यसबाहेक हाम्रा जति पनि यस्ता मौलिक संस्कृतिहरुलाई होटलमा ल्याउने योजना छ । खासगरी, नेपाली हस्पिटालिटीमा एसओपी के हो भन्ने कुरा निर्धारण गर्दैछौंं । जसरी हामीले पौवालाई अन्तर्राष्ट्रिय बजारमा लैजाने खोजिरहेका छौं, पौवाले बाहिर जाँदा नेपाली हस्पिटालिटीमा के भिन्नता छ भने बुझाउने कुराको अनुसन्धान र विकासमा यो वर्ष अझै धेरै समय खर्च गर्छौ । नेपाली फुड र नेपाली कल्चरको एक्स्पोलरमा नै फोकस हुन्छौं ।
सन् २०२६ मा कहाँ— कहाँ होटलहरु थप्दैछौं ?
हामीले सुर्खेत, धनगढी, दाङ, जनकपुर, वीरगन्ज देशका विभिन्न ठाउँमा प्रोजेक्टहरु हेरिहेका छौं । हेटौडामा भर्खरै फाइनल गरेका छौं । जहाँ—जहाँ कुरा मिलेको छ, त्यो ठाउँहरुमा गर्दै जान्छौं । यस वर्ष नेपालगन्जको फाइभ स्टार होटल तयार हुन्छ होला । पाल्पाको प्रोजेक्ट निर्माणको क्रममा छ, त्यसलाई यही वर्ष लन्च गर्छौ । जनकपुरमा लगभग एक चरणको तयारी भइसकेको छ, त्यसलाई संचालनमा ल्याउँछौं । 
लगानी हिसाबले पौवाले आगामी वर्ष कति लगानी थप्ने योजना बनाएको छ ?
गत वर्ष हामीले एक अर्ब बढीको लगानी गरिसकेका छौं । आगामी वर्ष हामी लगभग दुईदेखि तीन अर्ब इन्भेष्टमेन्टको तयारी गर्दैछौं । त्यसका लागि हामीले क्राउड फन्डिङको योजना पनि बनाइरहेका छौं ।
अहिले रोजगारीका हिसाबले पौवा कति कर्मचारी आवद्ध छन् ? आगामी वर्ष कति रोजगारी वृद्धि हुने अपेक्षा छ ?
अहिले हामीले ६०० बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छौं । आगामी वर्ष थप ६०० जनालाई रोजगारी दिने लक्ष्य छ । पौवाले लगानीमा पनि ठूलो फड्को मार्छ । आगामी पाँच वर्षभित्रमा नेपाली हस्पिटालिटीमा नम्बर वान ब्राण्डका रुपमा विकास गर्छौ र त्यसपछि अन्तर्राष्ट्रिय बजारमा जान्छौं ।
पाँच वर्षभित्र कति वटा स्टार होटल बनाउने योजना छ ?
ठ्याक्कै यति भनेर प्रोजेक्सन त गरेका छैनौं । अहिले पनि लगभग सबैजसो होटल स्टार लेभलका छन् । पाँच वर्षभित्र फाइभ स्टारस्तरको होटल तीन वटा पुर्याउने लक्ष्य छ, अन्य फोर स्टार र थ्री स्टारहरु त थेरै बनिहाल्छन् । त्यस हिसाबले स्टार र ननस्टार होटलसहित सबै जोड्दा पाँच वर्षभित्र ४० देखि ५० संख्या पुर्याइन्छ । 
पाल्पामा विशाल प्रोजेक्ट अगाडि बढाउँदैं हुनुहुन्छ, त्यो कस्तो प्रोजेक्ट हो ?
पाल्पामा तिनाउ गाउँपालिका—१ चौकीडाँडामा हामीले ३५० रोपनी क्षेत्रफलमा नेपाली पहाडी कल्चर स्ट्रक्चरल रुपमा झल्काउने, एग्रोनोमीलाई त्यसैमा समेट्ने र इन्टरटेन पनि राख्ने र शान्त पनि हुने रिसोर्ट बनाउँदैछौं । सभा, सम्मेलन गर्ने हलसहित त्यो रिसोर्टमा झण्डै १५० वटा भिल्ला शैलीका कोठाहरु हुनेछन् । त्यसलाई हामीले इण्डियन इन्डष्ट्रीको कर्पोरेट प्वाइन्ट बनाउन खोजेका छौं । उहाँहरु आएर, त्यहाँ बसेर हप्ता दश दिनसम्म आफ्ना कर्मचारीहरुका लागि सभा, सम्मेलन गर्न सक्ने प्लाइन्ट बनाऔं भन्ने लक्ष्यका साथ काम गर्दैछौं । यो बुटवलको हस्पिटल चोकबाट १८ किलोमिटरको दूरीमा छ ।
यो प्रोजेक्ट कहिलेसम्म सम्पन्न हुन्छ ?
अहिले हाम्रो काम अगाडि बढिरहेको छ । पहिलो फेज सकेर बैशाखबाट हामीले अतिथी सत्कार सुरु गर्छौ । फेजवाइज सम्पन्न गर्ने भएकाले सम्पूर्ण प्रोजेक्ट पूरा हुन चार—पाँच वर्ष लाग्छ । किनभने, यसमा हामीले एउटै ठूलो भवनभन्दा पनि नेपाली दुई तले घरका हिसाबले एउटामा चार वटा कोठा बनाउँछौं, बनेका घरहरुमा गेष्टहरु राख्दैं जान्छौं ।


तपाईको प्रतिक्रिया दिनुहोस