Techie IT
२०८३ जेष्ठ २५, सोमबार

समाचार

देशलाई घले दम्पतीको १५ अर्बको उपहार: दक्षिण एसियामै पहिलो ‘द लक्जरी कलेक्सन’ होटल


काठमाडौं—अस्ट्रेलियामा स्थापित नेपाली व्यवसायी शेष घले र जमुना गुरुङले काठमाडौंको लैनचौरमा निर्माण गरिरहेको होटल परियोजनाले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सुरुमा मेरियट इन्टरनेसनलको शेराटन ब्रान्डअन्तर्गत सञ्चालन गर्ने योजना रहेको उक्त होटल स्तरोन्नति हुँदै विश्व प्रसिद्ध लक्जरी ब्रान्ड ‘द लक्जरी कलेक्सन’ मा रूपान्तरण भएको छ।


यससँगै होटल दक्षिण एसियामै मेरियट इन्टरनेसनलको ‘द लक्जरी कलेक्सन’ ब्रान्डअन्तर्गत सञ्चालन हुने पहिलो होटल बन्ने भएको छ । यसले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ प्रदान गर्नेछ। ‘यो म्यारिटले ब्राण्डिङ गरेको दक्षिण एसियाकै पहिलो लक्जरी होटल हो,’ संचालक जमुना घलेले भनिन् । 

आइतबार मेरियट इन्टरनेसनलका अध्यक्ष डेभिड मेरियटले निर्माणाधीन होटलको स्थलगत अवलोकन गर्दै परियोजनाको भव्यता, लगानीकर्ताको दूरदर्शी सोच र लगानी क्षमताको खुलेर प्रशंसा गरे। उनले यो परियोजनाले नेपाललाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।


सुरुवाती चरणमा करिब ८ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको परियोजना स्तरोन्नतिसँगै विस्तार हुँदै हाल १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। होटलका सञ्चालक शेष घलेले लगानी झण्डै १५ अर्ब रुपैयाँ पुग्ने बताए । ‘काम सक्नलाई अझै तीन चार महिना बाँकी छ, लगानी झण्डै १५ अर्ब पुग्ला,’ उनले भने, ‘तर, हामीलाई खुसी के लागेको छ भने दुई महिनाअघि मेरियट इन्टरनेशनलसँग सम्झौता गरेर यो होटल दक्षिण एसियाकै पहिलो लक्जरी कलेक्सन होटल हुने भएको छ ।’


अत्याधुनिक सुविधा, अन्तर्राष्ट्रियस्तरको सेवा र विलासितापूर्ण आतिथ्य अनुभव प्रदान गर्ने लक्ष्यसहित निर्माण भइरहेको होटलमा २२५ वटा लक्जरी कोठा रहनेछन्।


होटल आगामी अक्टोबर—नोभेम्बरदेखि सञ्चालनमा आउने लक्ष्य राखिएको छ। सञ्चालनमा आएपछि यसले नेपालमा उच्चस्तरीय पर्यटन, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रिमियम आतिथ्य सेवाको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।
 

नेपालको पर्यटन उद्योगका लागि यो केवल एउटा होटल परियोजना होइन, विश्व लक्जरी आतिथ्य बजारमा नेपालको उपस्थितिलाई थप बलियो बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

१३ रोपनी जग्गामा सन् २०१४ देखि निर्माणाधीन रहेको होटल शेराटनलाई अपग्रेड गरेर मेरियट लक्जरी बनाउँदा ढिलो भएको जमुनाको भनाइ थियो । ‘शेराटनबाट लक्जरीमा अपग्रेड गर्दाखेरि धेरै कुराहरु परिवर्तन गर्नपर्‍यो,’ उनले भनिन्, ‘त्यसमा झण्डै एक डेढ वर्ष नै लाग्यो ।’ अहिले होटलको ७० प्रतिशत काम सकिइसकेको छ भने डेकुरेशनलगायतका कामहरु बाँकी रहेको उनको भनाइ छ ।

‘नेपालमा स्कील र सेमी स्कील कामदाहरु पाउन निकै मुस्किल छ,’ उनले थपिन्, ‘त्यही कारण हाम्रो काम ढिला भइरहेको छ ।’ तीन तला बेसमेन्टबाहेक होटल १७ तलाको रहेको छ । होटल सञ्चालनमा आउँदा ५ सय भन्दा बढीले रोजगारी पाउनेछन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट