Techie IT
२०८२ कार्तिक ३०, शनिबार

समाचार

वालनट बिस्ट्रोले सुरु गर्‍यो ‘लिटल फ्री लाइब्रेरी’, अब रेष्टुरेण्टमा स्वादसँगै ज्ञान


काठमाडौं- पानीपोखरीमा रहेको वालनट बिस्ट्रो रेष्टुरेण्टले  ग्राहकहरूलाई लक्षित गरेर पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । ग्राहकलाई स्वादिष्ट भोजन मात्र नभइ, ज्ञानको पनि स्वाद चखाउने उद्येश्यसहित पुस्तकालय सञ्चालनमा ल्याएको हो ।

रेष्टुरेण्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको सुरुवात गरेको छ। जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ। रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन्।

‘ पुस्तक छोड र पुस्तक लिएर जाउ '  अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेष्टुरेण्टका म्यानेजर राकेश डंगोलले जानकारी दिए। उनका अनुसार यो पहलले ग्राहकहरूलाई भोजनभन्दा बढी ज्ञानको अनुभव दिने लक्ष्य लिएको छ।

‘हामी मान्छेहरूलाई जोड्ने ठाउँ बन्न चाहन्छौं,’ उनले बताए, ‘खाद्यान्न मात्र होइन, विचार, कथा र अनुभवको आदानप्रदान हुने स्थान बनाउने हाम्रो प्रयास हो।’ रेष्टुरेण्टले यसअघि नै ‘गुणस्तर र सन्तुलन’ लाई आफ्नो खाद्य दर्शनको रूपमा लिँदै, स्थानीय रूपमा उत्पादित ताजा सामग्रीहरू प्रयोग गरेर नेपाली पारम्परिक व्यञ्जन ‘दाल भात तरकारी’ का विभिन्न  (वेज, चिकन, मटन, फिस वा ट्राउट)  सेवा दिँदै आएको छ ।

पुस्तकालयको यो पहलले स्वाद, संस्कृति र सिर्जनशीलताको सम्मिश्रणमार्फत ग्राहकहरूलाई अझै गहिरो अनुभव दिलाउने अपेक्षा गरिएको छ। समुदाय र संस्कृतिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। रेष्टुरेण्टको यो अभियानले नेपाली समाजमा पढ्ने बानी पुनर्जीवित गर्ने र सामुदायिक सम्बन्ध सुदृढ पार्ने सम्भावना देखिएको उनले बताए। बौद्धिक आदानप्रदान: फरक–फरक पृष्ठभूमिका मानिसहरूले आफ्नो ज्ञान र विचार बाँड्न पाउने भएकाले यस अभियानलाई महत्त्वका साथ हेरिएको डंगोलको भनाइ छ।

डंगोलले पुस्तकालयले प्रत्यक्ष रुपमा समाज र मानिसलाई जोड्ने विश्वास व्यक्त गरे। सामुदायिक साझा गतिविधिको माध्यमबाट समुदायबीच सम्बन्ध र सहकार्य अझ बढ्ने उनले उल्लेख गरे। यसले नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रोत्साहन दिँदै सांस्कृतिक पहिचान जोगाउन योगदान गर्ने उनले बताए। 
वालनट बिस्ट्रोले आगामी दिनमा यो अभियानलाई अझ विस्तार गर्ने योजना बनाएको छ। रेष्टुरेण्टले भविष्यमा साहित्यिक वाचन कार्यक्रम, लेखकहरूसँग अन्तरक्रिया, र बालसाहित्य प्रवर्द्धनका विशेष गतिविधि आयोजना गर्ने तयारी गरिरहेको छ ।

यो सानो ‘लिटल फ्री लाइब्रेरी’ले रेष्टुरेण्टभित्र होइन, बाहिर पनि एउटा ‘पढ्ने संस्कृति’ को सुरुवात गरेको छ। भोजन, संगीत र साहित्यको मधुर संगममा आधारित वालनट बिस्ट्रोको यो प्रयासले काठमाडौंका अन्य व्यवसायीहरूलाई पनि सामाजिक र सांस्कृतिक उत्तरदायित्वप्रतिको भावना जगाउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट