समाचार
१ अर्ब ५० करोड लगानीमा कोटीहवामा संचालनमा आयो ‘टाइगर फरेष्ट होटल प्रा.लि.’
बुटवल—१ अर्ब ५० करोड लगानीमा टाइगर फरेष्ट होटल प्रा.लि.ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य सेवा विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको टाइगर प्यालेस वाइ सोल्टी नजिकै शान्त र हरियाली वातावरणमा विकसित यो परियोजनाले प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको छ ।
हाल होटलमा काठबाट बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा प्रारम्भिक सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका यी संरचनाले बसाइँलाई विशिष्ट बनाउँछन्। डान्स क्लब, स्पा सेवा र १५०० क्षमताको बैंकेट हलसमेत सञ्चालनमा आइसकेका छन्।
करिब ५ बिगाहा क्षेत्रफलमा विस्तार भइरहेको यो परियोजनामा हालसम्म करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ। थप १ अर्ब ५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना रहेको सञ्चालक मिनराज भुसालले जानकारी दिए।
आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्रसहित थप ८० वटा काठबाट बनेका भिल्ला निर्माण गरिने योजना अघि बढाइएको छ।
स्वदेशी उत्पादन हुने सल्लो र सालजस्ता काठ प्रयोग गरेर इन्जिनियरिङ मापदण्डअनुसार संरचना निर्माण गर्दा नक्सा स्वीकृतिमा स्पष्ट कार्यविधि नहुँदा चुनौती भएको सञ्चालकले बताएका छन्।
हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको होटलले पूर्ण सञ्चालनपछि अझ ठूलो संख्यामा रोजगारी सिर्जना हुने जनाएको छ।
प्राकृतिक परिवेश, खुला स्थान र मौलिक संरचनाको शैलीले यस होटललाई अन्य परम्परागत होटलभन्दा अलग बनाएको सञ्चालकहरुको दावी छ।होटल परिसरमा बारासिङ्गे बियर गार्डेन सञ्चालनमा ल्याइएको छ ।
काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी सेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकारहरू सुपथ मूल्यमा उपलब्ध छन्। लाइभ म्युजिकको साथमा परिवार वा साथीहरूसँग समय बिताउन मिल्ने वातावरणले आगन्तुकलाई सहज र आत्मीय अनुभूति दिन्छ।


तपाईको प्रतिक्रिया दिनुहोस