ज्योति विकास बैंकद्वारा इन्टरबैक टेलर क्युआर भुक्तानी सेवा सञ्चालन

काठमाडौं— ज्योति विकास बैंकले इन्टरबैक टेलर क्युआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै इन्टरबैक टेलर क्युआर पेमेन्ट सेवा संचालनमा ल्याएको हो।
यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरुले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन्। ज्योति विकास बैंकको शाखाहरुमा रहेको तोकिएको क्युआर लाई स्क्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरुलाई थप सहजता हुने विश्वास बैंकले बोकेको छ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ्ग सुविधा सक्रिय रहेको हुनुपर्छ। ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन। यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्छ।
एटिएम अथवा आफ्नो सम्बन्धित बैंकको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैंकमा खाता नभएता पनि यो सुविधा उपलब्ध हुनेछ। ज्योति विकास बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङ्गको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यपूर्ति स्वरुप यो सेवा पनि थप गरेको हो। भविष्यमा अझ प्रभावकारी र नविनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ।
बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO: 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरकार्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि एक प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो। इन्टरकार्टले जयोति विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित वित्तीय पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस