Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष


काठमाडौं । वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार-चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए ।

परोक्ष प्रभाव भने विश्वभर देखियो । आपूर्ति शृङ्खला खलबलिँदा खाद्य सङ्कट, ऊर्जा तथा पेट्रोलियम सङ्कटलगायतको सामना मानव जगत्ले गर्नुपर्यो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा देखिएको व्यवधानलगायतका कारण मुद्रास्फीति उच्च रहन गएको पृष्ठभूमिमा हुन गएको ब्याजदरको बढोत्तरीले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त देखियो । कोभिड-१९ महामारीका कारण सिर्जित समस्याको निराकरण हुन नपाउँदै रूस-युक्रेन युद्ध र पछिल्लो समय इजराइल-हमास तनावका बाछिटा विश्व अर्थतन्त्रमा देखिए ।

अन्तर्राष्ट्रिय मुद्राकोषले विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ । मुद्राकोषको गत अप्रिलको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२३ मा दुई दशमलव आठ प्रतिशत र सन् २०२४ मा तीन प्रतिशतले विस्तार हुने देखिएको छ । त्यस्तै, उच्च मुद्रास्फीतिको स्थिति विश्व अर्थतन्त्रका लागि यस वर्षको अर्को ठूलो समस्याका रूपमा रह्यो । सन् २०२३ मा विश्व मुद्रास्फीति सात प्रतिशत र सन् २०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण मुद्राकोषले गरेको छ । अधिकांश देशका केन्द्रीय बैङ्कहरूले सन् २०२२ को सुरुदेखि अवलम्बन गर्दै आएको कसिलो मौद्रिक नीतिको कार्यदिशालाई सन् २०२३ मा पनि कायमै राखे । विकसित मुलुकहरूले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रभाव वित्तीय बजारमा पर्न नदिन उदीयमान मुलुकहरूले पनि कसिलो मौद्रिक नीति अपनाए । चर्को ब्याजदर र कर्जा विस्तारमा सङ्कुचनको अवस्था अधिकांश मुलुकका बैङ्क वित्तीय संस्थामा देखियो । चर्को मूल्यवृद्धि र उपभोक्ता खपतमा ह्रासको स्थिति उपभोक्ता बजारमा देखियो ।

अमेरिकी बैङ्क धराशायी

आर्थिक र वित्तीयरूपमा अमेरिकाले यस वर्ष सन् २००८ को आर्थिक मन्दीयताको सबैभन्दा खराब समयको सामना गर्नुपर्यो । गत मार्चमा अमेरिकाको सिलिकन भ्याली बैङ्क डुब्यो । वित्तीयरूपमा समस्याग्रस्त भएर निक्षेपकर्ताको बचतसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेपछि उक्त बैङ्कलाई गत मार्च १० मा क्यालिफोर्निया डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसल (डिएफपिआई) ले बन्द भएको घोषणा गर्यो । त्यस्तै, अमेरिकाकै सिग्नेचर बैङ्क मार्च १२ र रिपब्लिक बैङ्क मे १ मा बन्द भएको घोषणा गरियो । ती बैङ्कबाट ठूलो रकम लगानी भएका प्रविधि (टेक) कम्पनी डुब्नु र क्रिप्टोलगायत अभौतिक मुद्रा (भर्चुअल करेन्सी) को कारोबारमा ठूलो गिरावट आउनुलाईलाई अमेरिकी बैंकिङ प्रणाली धराशायी हुनुको मुख्य कारण मानिएको छ । त्यस्तै, बैङ्कका निक्षेपकर्ताको बैङ्कप्रति विश्वास नहुनु र आफ्नो बचत एकैपटक फिर्ता माग्नु ती बैङ्क डुब्नुको कारण बन्यो ।

आर्टिफिसियल इन्टेलिजेन्सको दबदबा

कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रार्दुभाव, प्रयोग र त्यसको परिणाममाथिको विमर्श विश्वभर नै यस वर्ष ‘हटकेक’का रूपमा रह्यो । सन् २०२२ को अन्त्यतिर च्याटजिपिटी आएपछि त्यसले विश्वभर नै एक किसिमको तरङ्ग सिर्जना गर्यो । ओपनएआईको च्याट जिपिटी, गुगलको च्याटबट, क्यारेक्टर डट एआई, क्विलवोट, मिडजर्नी, हगिङ फेस, बार्ड, नोभेल एआई, क्यापकटलगायतका एआई टुलहरू प्रयोगमा छन् । विद्युतीय उपकरण अर्थात् मेसिनले नै मानिस जसरी सोच्नसक्ने र निणर्य लिनसक्ने क्षमतासहित बनाइएको एआईको प्रयोगका कारण विभिन्न पेशामा पार्नसक्ने असरको पक्ष एकातिर छ भने अर्कोतिर यसको दुरुपयोगको सम्भावनाबारे पनि विश्वभर अझै बहस चलिरहेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई ‘कोलिन्स वर्ड अफ दि इयर’को उपमा दिइएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

यस वर्ष विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुग्यो । यही डिसेम्बर ४ मा विश्व बजारमा सुनको मूल्य प्रतिऔस अमेरिकी डलर दुई हजार एक सय ५२ दशमलव तीन डलर पुगेको थियो । भूराजनीतिक अस्थिरता र अमेरिकी डलरको भाउ घट्दै जाँदा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । त्यस्तै, केन्द्रिय बैङ्कहरूले आफ्नो भुक्तानी पर्याप्तता (रिजर्भ) बलियो पार्न बैङ्क नोटको सट्टा सुनलाई जम्मा गर्न थालेका कारण पनि मूल्य बढेको ठानिएको छ ।

सङ्कटग्रस्त श्रमबजार

मुख्यगरी प्रविधि कम्पनी र औद्योगिक क्षेत्रमा देखिएको समस्याका कारण कामदार कटौती गर्नुपरेको विषयले यस वर्ष विश्व श्रम बजारलाई तरङ्गित बनायो । गत जनवरीमा अमेजनले १८ हजार कर्मचारी कटौती गर्यो भने माइक्रोसफ्टले मार्चमा १० हजार कर्मचारी र त्यही महिना गुगलले १२ हजार कर्मचारी कटौती गर्ने निणर्य गरे । श्रमिक अधिकारका लागि अमेजन, वालमार्ट, फेडेक्स, टार्गेट, इन्स्टाकार्ट, अमेजनलगायत कम्पनीका कामदारले कोभिड महामारीपछि हड्ताल गर्नुपरेको समाचार विश्वभरका समाचार माध्याममा छाए । त्यस्तै, ‘राइटर्स गिल्ड अफ अमेरिका’ त्यहाँको मोसन पिक्चर्स र टेलिभिजन निर्माताको गठबन्धन विरुद्ध लामो समय आन्दोलन गरे । यो आन्दोलनको स्थिति सिर्जना हुनुमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण ‘कन्टेन्ट राइटर’ को जागिर खोसिएको विषयलाई पनि जोडेर हेरिएको छ ।

असमानताको वर्ष

विश्व बैङ्कले आफ्नो समीक्षामा सन् २०२३ लाई असमानताको वर्ष भनेको छ । जलवायु परिवर्तन, युद्ध, खाद्य असुरक्षालगायतका कारण कोभिड महामारीको समयमा भन्दा पनि सन् २०२३ मा खराब स्थितिको सामना गर्नुपरेको उल्लेख गरेको छ । विश्व बैङ्कका अनुसार अहिले विश्वभर करिब ७० करोड मानिसले चरम गरिबीको सामना गरिरहेका छन् । त्यस्तै, करिब साढे १८ करोड मानिस अर्थात् विश्वको कुल जनसङ्ख्याको दुई दशमलव तीन प्रतिशत शरणार्थी र आप्रवासीका रूपमा बसिरहेका छन् । धनी र गरिबबीचको खाडल यस वर्ष थप गहिरिएको विश्व बैङ्कको ठहर छ ।

युद्धले अस्तव्यस्त विश्व व्यापार

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सार्वजनिक गरेको ‘वर्ल्ड ट्रेड स्टाटिस्टिकल रिभ्यु २०२३’ प्रतिवेदनअनुसार रुस-युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, कसिला मौद्रिक नीति, अधिकांश मुलुकमा देखिएको सार्वजनिक ऋणको चापलगायतका कारण सन् २०२२ जस्तै २०२३ मा पनि विश्व व्यापारले अपेक्षित गति लिन सकेन र सहज अवस्था बन्न सकेन । सन् २०२२ फेब्रुअरीदेखि चलिरहेको रुस-युक्रेन तनावका बाछिटा विश्व अर्थतन्त्रमा गम्भीररूपमा देखिइरहेका बेला गत अक्टोबर ७ मा इजराइल-हमास युद्ध शुरु भएपछि विश्व व्यापार थप अस्तव्यस्त भएको छ भने आपूर्ति श्रृङ्खला टुटेका छन् । यी दुई युद्धका कारण पेट्रोलियम र खाद्य पदार्थको बजार सबैभन्दा बढी प्रभावित हुन पुग्यो भने सहज आपूर्ति हुन नसक्दा मूल्यवृद्धि बढ्यो । विश्वको सबैभन्दा ठूलो चामल निर्यातक देश भारतले गत जुलाईमा निर्यात प्रतिबन्धको घोषणा गर्‍यो । भारतले यस्तो निणर्य लिनुको मुख्य कारण भूराजनीतिक अस्थिरताका कारण बढ्दो खाद्य सङ्कटलाई मानिएको छ । यमनको हुथी समूहले यही डिसेम्बर पहिलो साता ‘रेड सी’को समुद्री मार्ग हुँदै गइरहेका पेट्रोलियम र कार्गो पानीजहाजमा आक्रमण गरे । यो समुद्री रुटबाट हुने व्यापारले विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । उक्त रुटमा हुथी समूहबाट भएको आक्रमणका कारण एसिया र युरोपको व्यापारमा नराम्रो असर परेको छ ।

श्रम बजारमा महिलाको योगदानबारेको अध्ययनलाई नोबेल पुरस्कार

श्रम बजारमा महिलाको योगदानबारे गरिएको अध्ययनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनलाई यो पुरस्कार दिइएको हो । श्रम बजार र पारिश्रमिकमा हुने लैङ्गिक विभेद विषय नयाँ होइन । तर क्लाउडियाले शताब्दीऔँदेखि महिलाको कमाइ र श्रम बजारको सहभागिताबारे बृहत् अध्ययन गर्नुभएको थियो । यो अध्ययनको केन्द्रमा महिलाको विवाह र घरपरिवारप्रतिको जिम्मेवारीलाई राखेर विश्लेषण गरिएको र महिलाले गर्ने कमाइलाई बहुआयामिक पक्षबाट विश्लेषण गरिएको जनाइएको छ ।

ट्वीटरको रिब्राण्डिङ

अर्बपति इलन मस्कले २०२२ अक्टोबरमा सामाजिक सञ्जाल ट्वीटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि यो विषयले विश्वभर चर्चा छायो । ट्वीटरलाई थप परिस्कृत र परिमार्जन गर्दै जाने बताउने गरेका मस्कले २०२३ जुलाई २३ देखि ट्वीटरलाई एक्सका रूपमा ‘रिब्रान्ड’ गर्नुभयो । एक ‘सुपर एप’का रूपमा एक्सलाई स्थापित गर्ने लक्ष्यसहित यस्तो निणर्य लिइएको मस्कको भनाइ थियो । त्यसो त ट्वीटर खरिदपछि पुराना कर्मचारीलाई मस्कले बर्खास्त गरेको र विभिन्न कानूनी उल्झनमा पर्नुपरेको विषय पनि चर्चामा रह्यो ।

धेरै मुलुकमा टिकटक प्रतिबन्ध

सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याएको ठहर गर्दै गत कात्तिक २७ गते नेपाल सरकारले मामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निणर्य गर्‍यो । नेपालले मात्र नभई यस वर्ष अरु थुप्रै देशले चिनियाँ टेक-कम्पनी बाइटडान्सअन्तर्गतको भिडियो सेयरिङ प्लेटफर्म टिकटकलाई बन्देज गर्ने घोषणा गरे । व्यक्तिगत गोपनीयता र तथ्याङ्कको गोपनीयतामाथि प्रश्न उठाउँदै सन् २०२३ को फेब्रुअरीमा युरोपियन कमिसन, युरोपियन पार्लियामेन्ट र युरोपियन युनियन काउन्सिलले सरकारी कर्मचारीको मोबाइल डिभाइसमा टिकटक बन्द गर्ने निणर्य गर्यो । त्यस्तै निणर्य अमेरिका र क्यानडाले पनि गरे । ती देशका सरकारी कर्मचारीलाई ३० दिनभित्र आफ्ना डिभाइसबाट टिकटक हटाउन भनिएको थियो । संयुक्त अधिराज्य, न्युजिल्याण्ड, डेनमार्कलगायत देशले पनि टिकटकमाथि प्रतिबन्ध लगाए ।

विश्व तापमान हालसम्मकै उच्च

नासाले २०२३ सेप्टेम्बर १४ मा पृथ्वीको तापमान हालसम्मकै उच्च विन्दुमा पुगेको जनायो । त्यस्तै, विश्व मौसम विज्ञान सङ्गठनले कोप २८ सम्मेलनका क्रममा सन् २०२३ लाई मानव इतिहासकै सबैभन्दा गर्मी भएको वर्षका रूपमा बतायो । अत्याधिक गर्मीका कारण हिमालय र अन्टार्टिकाको हिँउ तीव्ररूपमा पग्लिरहेको तथा समुद्रको सतह बढेको र पानी तातो हुँदै गएकोबारे सङ्गठनले विश्व समुदायको ध्यानाकर्षण गरायो ।

उदीयमान भारत

गत मे महिनामा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बन्यो । त्यस्तै गत अगस्ट २३ मा भारतले चन्द्रयान-३ पठाएर चन्द्रमा पुग्ने चौथो मुलुक र चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बन्यो । रासस



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट